Thursday, 24 March 2016 11:22

पिच्कारी

Written by 
Rate this item
(0 votes)

 

बिहानको घामले पर्दा छिछोलेर कोठा भित्र पस्न समेत भ्याकाथेनन्...माँ को फोन बज्यो । सिरानीमा भएको फोन अध्कल्टो निद्रामा उठाए । हेलो पनि नभनि सिधै सोध्नु भो “घर आउदैनस् ?” । होली खेल्ने मन नभको र घर नआउने कुरा हिजै जानकारी गराएता पनि,एकाबिहानै फेरी फोन गरेर सोध्नु..त्यो आमाको माया थियो र छोरो आइदियोस् भन्ने चाहना पनि । केही छिन कुरा गरेँ,नआउने कुरा फेरी भनेँ । “ल फोन राख्” भन्दै फोन काटियो र म पुन निदाए, सिरानीमा गाला दलेर । उठेर ब्रस गर्दा घाम मेरो फुलबुट्टे कार्पेटभरी छरपस्ट थियो । चियाको कप बोकेर बार्दलीमा निस्किए । नोटिफिकेसन थुप्रिएर फेसबुक अटेसमटेस गर्दैरैछ । नानीले घरको होली,फोटो बनाएर ट्याग गरेकी रैछे....लेखिएको थियो “मिस यु दादा” । चिया पनि तेती गुलियो लागेन जति ती फोटाहरु लागे । ओठ दुबै किनारबाट तन्कियो । सायद परिवारको मतलबनै यहि सानो हाँसो हो । 

उमेर बढ्दै जाँदा, मन सानो बन्दै जानु पछाडीको रहस्य मैले कैले बुझिन । न कुनै पिर छ न त कुनै दुख । तर पनि रंग संग रंगिन चाहेन मन । यो बर्ष छालाहरुले फोतिने रहर गरेनन् । पानी छ्यापा छ्याप गरिरहेका केटाकेटीको एक हुल दृश्य देखेर मलाइ मेरो विगतले बोलायो । 

भैंसीको थुनमा तोरीको तेल दलेर दुध दुदै गरेकी मेरी हजुरआमालाइ म आँखा मिच्दै सोध्छँु “आमोइ मेरो पिच्कारी काँ छ ?” आमा झर्किदै भन्नुहुन्छ “अ‍ैले केइ बित्याछैन । चिया खाएर जालास् ।” पिच्कारी नपाको झोकमा,बाहिर आँगनमा हातको नाडी छाम्दै खाँटमा पल्टिएका बुवाको काखी मुन्तीर टाउको राखेर छातीको रौँ खेलाउन थाल्छुँ । बुवाले म रिसाएको चाल पाएर सुटुक्क कानमा भन्नुहुन्छ “तखता माथी छ तेरो पिच्कारी” । म झ्यालको डन्डीमा चढेर तखताको पिच्कारी झिक्छँु । अमिर खानको मेला फिल्मको पोस्टर टाँसिएको मेरो पिच्कारी पोहोरको भन्दा ठूलो थियो । बच्चामा होलीको दिन पुरानो लुगा लगाइदिने चलन थियो । कुममा च्यातिएर काम नलाग्ने बोर्डिङको सेतो रंगको सर्ट अनि जाङ फाटेको मिकीमाउसको पहेलो कट्टु लगाएर म आँगनमा निस्किए । आमाले दिएको चिया गन्गन् नगरि खाए । आज मलाइ हिजो अस्ति जस्तो चियामा नचोपी नहुने बासी रोटी चाहिएको छैन । कट्टुको खल्ती बेलुनझै फुल्ने गरी रंग अनि लोलाको पाकेट कोेच्छँु,हातमा पिच्कारी झुन्ड्याएर कुद्छँु वीरेन्दरको घर । सब जना लोला भर्न बेस्त छन् । ठूलो सिलाभरको बाटामा रंग घोलेर पिच्कारीले तान्दै बेलुनमा हाल्दैथिए । म आको देख्ने बित्तिकै वीरेन्दर करायो “हेर्त रे कलुुवा आयो । पकड तेस्लाइ ।” सबैजना मिलेर मलाइ लखाट्न थाले । मनले मलाइ रंग्याइदिए हुन्थ्यो भने पनि प्रतिकार गर्न म भाग्दैछँु । त्यो भगाइ कम्ता नाटकिय हुन्नथ्यो । मेरो पायल चप्पलको लोती चुडिन्छ ..म चप्पल छोडेर भाग्छँु । अनिलले घेरा हालेर समात्छ मलाइ । राधेश्यामले हात समात्छ अनि वीरेन्दरले दाँत चम्काउने रंगले हातमा थुकी थुकी मेरो दाँत मोल्दिन्छ । राजेन्दर आएर मेरो ढाँडमा पाँच औलाको डाम बस्ने गरी छाप लगाउछ । तेस्तो छापले हाम्रो समुह चिनिन्थ्यो । यो साल मेरो पिच्कारी सबैभन्दा राम्रो अनि ठूलो भएकोेले हाइलाइटमा छ । अनिल भन्दैछ “दुर्गालाइ छतबाट तेरै पिच्कारीले हान्नुपर्छ ।” हामी टोल टोलका भुराहरु पिच्कारी अनि लोलाले जुद्ने गर्थौ । लाग्थ्यो हामी कुनै युद्ध गरिरहेकाछौ । पिच्कारी हाम्रो बन्दुक हुन्थ्यो भने लोला बम । पिच्कारी अनि लोला हाने पिच्छे मुखबाट आवज निकाल्थ्यौँ “ढिच्क्याउ ढिच्क्याउ डुडुम डुडुम”। हाम्रो गु्रपमा सबभन्दा ठूलो अनिल भकोले त्योनै कमान्डर बन्थ्यो । सबको पिच्कारी सानो अनि कमजोर  हुनाले  पाटपुर्जा निस्किसक्याछ । तर मेरो पिच्कारी जस्ताको तेस्तै छ । कमान्डरले मेरोे पिच्कारीले तल उभिएका उमेशको गु्रपलाइ रंग छ्याप्दैछ । तलबाट हानेको लोला बलजस्तै समात्न खोज्दा हातमै फुट्छन् अनि सर्ट रंगिन्छ । राजेन्दरले तल कलबाट बाल्टिनका बाल्टिन पानी ओसारेर छतबाट छ्याप्दैछ । आखिर केही नलागेर हाम्लाइ रंग दल्न आएका उमेशहरु फर्कन्छन् । हामी हाम्रो जितको खुसी फेरी पनि एकअर्कालाइ रंग दलेर मनाउछौ । अरु दिन सात पल्ट सम्म खाइसक्नु पर्ने पेटलाइ आज भोक पनि लाग्दैन । वीरेन्दरको घरको भित्ताभरि रंगको छिटाले पोतिएको छ । बरन्डा पान खाएर थुके जस्तै राताम्मै छ । हामी अझै पनि एकअर्कालाइ पानी छ्यापाछ्याप गर्दैछौ । आज यो पानीले जती भिजाए पनि धित मर्नेबाला छैन । घाम डुब्दै गएपछि बल्ल कलिलोे छालालाइ चिसो लाग्छ अनि घर जाने तर्खर गरिन्छ । म मेरो मेला फिलिमको पोस्टरबाला पिच्कारी बोक्छुँ । बचेखुचेका रंगहरु भोलीको लागी टिपनटापन गरेर खल्तीमा कोच्छँु । मेरो कट्टुको जाँङ पुरै फाटेर स्कट बनिसक्या हुन्छ । लोती फुस्केको चप्पल गाँस्न टुक्रुक्क बस्दा देखिएको ढुकुर हेरेर दुर्गाले माझी औला खुम्च्याउदै कुरी कुरी भन्छे । म लाजले भुतुक्क अनि रंगले निथ्रुक्क हुदै घर पुग्छुँ । आमाले सराप्दै लुगा खोलेर नुहाइदिनुहुन्छ । जिउ अनि मुखको रंग त तत्कालै जान्थ्यो । तर कानको चेपमा रहिरहने रातो रंगले हप्तौ सम्म पनि होलीलाइ जिवितै गराउथ्यो । यत्तिकैमा म्यासेन्जरको घन्टी टुङ्ङ बज्छ । हालसालै बनेको काठमान्डौको साथीले म्यासेस गरेको हुन्छ “ह्याप्पी होली साथी” ।

सायद म आज पनि त्यही अनिल वीरेन्दर राजेन्दर अनि दुर्गालाइ खोज्दैछँु  होली खेल्न । अक्सर म मामाघर जाँदा वीरेन्दरको त्यो घरलाइ नियाल्छँु जहाँ मेरो पिच्कारीले छोडेको रंगहरु अझै पनि मधुरो देखिन्छ । त्यो घर,त्यो छत त्यो बरन्डा जहिको त्यही छ,जस्ताको तेस्तै छ । छैन त बस् संगै बिताएको समय अनि बालसखाहरु । सुन्छु  भाडाकुटी खेल्दाकी मेरी बेहुली दुर्गा,मोतीहारीको मुर्गाको पोथी भएर ३ वटा चल्ला जन्माइ सकी रे । सुन्छु वीरेन्दर राजेन्दर खाडी पसेँ रे । अनिल काठमान्डौको कुनै कुनामा आफ्नै जीवनसंग वेस्त छ रे । त्यो विरानो देशमा दुर्गालाइ कस्ले अविर दल्देओस्..विचरी आफै घरगृहस्थीमा दलिएकी होली । त्यो रापिलो बालुवामा वीरेन्दर राजेन्दरलाइ कस्ले रंग छर्दिओस्....विचराहरु मरुभुमीमा पसिना छर्दैहोलान् । त्यो अनिललाइ कस्ले लोला हान्दियोस्...विचरा साँघुरो गल्लीमा ठोकिदै होला । राधेश्याम त अझ मेरै पिच्कारीले सधै होली खेल्छुँ भन्थ्यो । समयले तेस्लाइ यस्तो खेलायो...आजसम्म तेस्की आमा फोटो बोकेर “बेटाके ढुन्दी” भन्दै सरकारी अफिस धाउछिन् रे । 

                                                                          श्रेयज सुबेदी

 

Read 1340 times