Friday, 18 March 2016 04:51

मेरो छोरीको झुम्का

Written by 
Rate this item
(0 votes)

बिहानको पारिलो घाम,पसिनाको थोपा नाकको डिलमा झोलुङ्गो खेल्दैछ जडौली फरियाको फाटेको एक फेरोले,पोतेँ पसिना मुखभरी अनि फेरेँ लामो सास तेस्तै सास जुन अरुले फेर्ने गर्छन...फरक यती हो उनीहरुको सासमा मन्जन बास्ना आउछ अनि मेरो सासमा बिर्ता स्विट्स एन्ड होटलले हरेक रात फ्याक्ने बासी समोसा बढ्दो गर्मीले लट्टा परेका कपाल चिल्चिलाउछन् अनि दशै औंलाले टाउको कन्याउछँु बढेका नङ भित्रै जुम्रा अड्किएर आउछन्...निकालेर नङले थिचेर मार्छु पिटिक्क पिटिक्क गर्छन्..आनन्द बेग्लै आँउछ दाहिने हातले कन्पट्टी चिलाउदै खाना पाकेको हेर्दैछँु त्यो ठूलो भाडोबाट निस्किएको हरएक बाफले मेरो आन्द्रा दोबार्दै लान्छ सुख्खा घाँटीले घुटुक्क थुक निल्छ अनि भोको पेट क्याउ क्याउ गर्छ भित्रबाट एउटा कराउदै निस्किन्छभाक् रे पागल्नी,मारु डन्डा बर्षकी मेरी अर्धनग्न छोरी च्यापेर, पर्खालको एक कुनामा बसेर कुर्छु,त्यो एक टपरी पुलाउ जस्ले मेरो भोकलाइ पेट भित्रै थिच्नेछ

ठूलो स्वरले बजेको गानाले मन्त्र पढ्ने पन्डितको ओठ चलेको मात्र देखिन्छ बेहुला बेहुली ज्ञानी बच्चा जस्तै बाजेले भनेको खरखर मान्दैछन् फोटो खिच्ने मान्छे क्यामेराले आफ्नो अनुहार छोपेर दुँनियाको अनुहार निकाल्दैछ गला अनि कानमा सम्पन्नता लटरम्मै फलेको लुगाहरु को भन्दा को कम सरी जिउमा टाँगिएका छन् सजाएर राखिएको खानाले मेरो मन भताभुङ्ग छेउमा उभिएर दाँत कोट्याइ रहेका मान्छेहरुले मेरो भोक कोट्याउदैछन् यस्तै दुँनिया...कतै भोक कतै भतेर

पानी खाएर फालिएको प्लास्टिकको ग्लास संग खेलिरहेकी मेरी छोरीलाइ हेर्छु उस्को अबोध हातलाइ के थाहा त्यो जुठो हो भनेर भिडमा सजिएका बच्चीहरु संग आँखा मिलाउनु पर्दा मेरी बच्चीलाइ अन्याय गर्ने आमा प्रमाणित हुन्छु त्यो नाङ्गो जिउ जस्लाइ ढाक्दिनको लागी कैयन दैलाहरुमा मैले हात फिजाउनु पर्छ त्यो नाङ्गो खुट्टा जस्लाइ छोप्नको लागी फोहोरका थुप्रामा बिजोरी जुत्ताहरु खोज्नु पर्ने हुन्छ त्यो भोको पेट जस्लाइ भर्नको लागी ताजा खाना बासी हुनुपर्ने हुन्छ त्यो बच्चीलाइ के थाहा ल्याक्टोजिन हर्लिक्सको स्वाद के हो त्यो बच्चीलाइ के थाहा पिलपिल बल्ने जुत्ताको स्पर्श के हो उस्ले मात्र रुन जानेकी छे उस्को हरएक रुवाइलाइ शान्त पार्न मेरो न्याम्टो चुसाउनछँु दुधको धारा बग्नु पर्ने तर मेरो बच्ची थोपामै चित्त बुझाउछे बढ्दो उमेर संगै उस्लाइ फोहोरले तान्नेछ उस्ले पनि नगरपालिकाको गाडी आउनु अगाबै आफ्नो पुरा दिन टिपी सिध्याउनुपर्नेछ उस्ले कपी कलम छुन पाउनेछैन शहरको गल्लीहरुमा नसामा मातिएका अपराधीहरुबाट बलात्कृत हुनु पर्नेछ अनि मैले जस्तै गरी एउटा जिवनलाइ जन्म दिनुपर्नेछ उस्को पनि बिहे हुनेछैन तर आमा बन्नु पर्नेछ उस्को पनि बिदाइ हुनेछैन तर हरएक दिन रुनु पर्नेछ मेरी बच्ची बेहुली बन्ने छैन तर सुहाग बिनाको रात मनाउनु पर्नेछ मेरी बच्चीले पनि बन्नु पर्नेछ

बिहेको माहोलमा सबै मस्त देखिन्छन् मेरो छोरी नजिक अर्की सानो बच्ची खेल्दै गरेको देख्छँु फोहोरी हातले त्यो बच्चीको कानमा छुन्छे,आफ्नो कानमा हात लाउछे अनि रित्तो कान समाउदै तिर हेर्छे उस्को हेराइले मलाइ प्रस्ट सोध्दैथियो...मेरो कान बुच्चै किन ? तेस्को हेराइलाइ कसरी सम्झाउ,गरिबीको कोखमा सुनको कुनै सम्बन्ध हुदैन तर पनि त्यो हेराइले घाम भन्दा बढ्ता पोल्यो मलाइ मैले आफैलाइ सेलाउनको लागी,त्यो बच्चीको कानबाट झुम्का लुछेँ.....छोरी बोके अनि नदेखिने गरि बाहिर निस्किए हो मैले गलत गरेँ....मेरो बच्चीको चाहना पुरा हुनुनै अपराध हो तेस्लाइ रुने अधिकार दिएको समाजमा,हाँसो तेस्को अपराध नै हो

केही छिन पछि हल्ला चल्छ गेट बाहिर नालाको डिलमा गालामा हात राखेर बसेको छँु  केही नजरहरु प्रति संखालु देखिन्छन् मान्छेहरु आफ्नो दिमागले भ्याए सम्म अड्कल बाजी काट्दैछन् एउटी महिला बच्ची बोकेर कराउदै छे....मेरो छोरीको झुम्का हरायो, मेरो छोरीको झुम्का हरायो मनमनै भन्दैछँु......तेरो छोरीको झुम्का हराउदा यत्रो हल्ला, मेरो छोरीको खुसी हरायो... कराए भने सब्को जाली फुट्छ

 

                                                                   श्रेयज सुबेदी

Read 1558 times Last modified on Friday, 18 March 2016 05:10