Sunday, 13 March 2016 05:27

बिरामी

Written by 
Rate this item
(3 votes)

म कमजोर छैन । म चुपचाप छँु यस्को मतलब यो हैन कि म बोल्न सक्दिन । तिम्रो हरकतको प्रतिकृया दिन्न,यस्को मतलब यो हैन कि मलाइ प्रतिकार गर्न आउदैन । मेरो बारेमा नकारात्म सोच पाल्ने तिम्रो उपस्थिती बान्ता आँउछ मलाइ । किनकि तिम्रो बिचार गनाउने गर्छ । बेलैमा बिचार पुर्याउ,नत्र बिचारमा किरा लागेर दिमागको क्यान्सर होला । तिम्रा ती गुद्दे नजरहरु परेलाको दराजमा बन्द गरे बेस,नत्र झिकेर गुच्चा खेली खोपीमा पिलाइदिउँला । तिम्रा अनैतिक हातहरु म बाट पर राख,नत्र सिलौटामा थुरेर अचार बनाइदिउला । म प्रतिको तिम्रो अपराधिक सोचाइलाइ पूर्णबिराम लगाउ । नत्र दुइ खुट्टाको बीचमा यस्तो प्रहार गर्छु कि जीवनमा कहिले पनि बाँउ बन्न सक्दैनौ । असमानता पालेको तिम्रो मगज रोगी भैसक्यो । बिचार साँघुरो छ तिम्रो । तिमी बिरामी छौँ पुरुष,बेलैमा उपचार सुरु गर । 

अन्याय,अत्याचार,यातना यी सब कुराहरु के मेरो मात्र भागको अंश हो ? इतिहास देखि वर्तमान सम्म म तल छँु भन्दैमा जमिनैमा धसाउन खोज्ने तिम्रो प्रवृतिलाइ,के निरकुंशताको संकेत दिन मिल्दैन मैले ? के सहनशिलता मेरो मात्र कर्तब्य हो ? तिमी आफ्नो दायित्व बिर्सन्छौ भने मैले कर्तब्य पालन गर्नुपर्छ भनि कतै कुनै कागजमा लेखिएको छैन । तिमी पुरुष म नारी भन्दैमा सधै तिम्रो जोतिने गोरु बन्न सक्दिन । प्रतिकार प्रतिसोध अनि प्रतिस्पर्धाको क्षमता म पनि राख्दछँु । यो कहिल्यै नबिर्स, तिमी जुन आमाको दुध खाएर पुरुष भयौ म पनि तेही आमाको न्याम्टो चुसेर नारी भएकी हँु । लैङ्गीक बिभेदलाइ बढावा दिने तिमी शक्तिशाली हैन,कायर हौ । बिभेदात्मक सामाजिक ढाल भित्रको तिम्रो अस्तित्व, तेही बाघको छाला ओडेको गधाको जस्तो हो । 

हरदिन हरपल हर ठाँउमा तिमी आफ्नो पुरुषत्व देखाउन तम्सिएका हुन्छौ । बाटोमा हिडेको बेला सिठ्ठी बजाएर,जिब्रो पड्काएर तुच्छ बचनले जिस्क्याउदा,के तिम्रो पुरुषत्व साबित हुन्छ । यो अवस्थामा ६ नम्बरको चप्पलले १२ नम्बरको डाम बस्ने गरि दन्काउन सक्छँु म । तर म तिमी जस्तो हिंस्रक छैन । राती एक्लै गल्लीमा ४ ५ जना मिलेर मेरो छातीमा हात लगाउदा, के तिमीलाइ तिम्रो आमाको दुधले पोल्दैन ? ती हातहरु भाचेर दाङ्नामा सुकाउन सक्छँु म । तर तिमी जस्तो असामाजिक छैन म । बसमा उभिएर यात्रा गर्दा मेरो पाखुरा मुनी हेरेर र्याल काट्ने तिम्रो जिब्रो धुतेर चुडाल्न सक्छँु म । तर म तिमी जस्तो अनैतिक छैन । खसेको सामान टिप्दा मेरो भित्री पहिरनको रंग अड्कल गर्ने तिम्रो आँखा, आँखा हैन ढुङ्गा हो । जस्मा कुनै लाज छैन । अफिसमा तिम्रो टेबलमा फाइल राख्दा, मेरो छातीमा लगाउने तिम्रो गलत नजर,बास्तवमै निर्जीव छ । जस्मा कुनै संवेदना छैन । कलेजको गेटबाट भित्र पस्दा, भिडमा मेरो अंगहरु छुन खोज्ने तिम्रो नियत बास्तवमै अपराधी छ । टिसर्टका किनारबाट झुक्किएर देखिने समिजका फित्ताहरुमा लगाउने तिम्रो दृष्टि,कुनै कात्तिके कुकुरको भन्दा कम छैन । 

मैले छोटा लुगा लगाउदैमा,टाइट जिन्स लगाउदैमा मेरो नियतमा प्रश्न गर्ने अधिकार छैन तिम्लाइ । म चुरोट खान्छु, रक्सि पिउछँु भन्दैमा,तिम्रो ओछ्यान तताउने म कुनै यौनव्यवसायी हैन । तिमी पनि त मोर्डन लुगा लगाउछौ । के म पनि तिम्रो नियतमा प्रश्न गर्न सक्छँु ? तिमी पनि त चुरोट रक्सि पिउछौ । के तिमी पनि एक यौनव्यवसायी हौ ? म घर राती अबेर फर्कन्छँु भन्दैमा कुनै केटासंग घुमेर आको हुन्न म । म केटाहरु संग बढि घुलमिल हुन्छँु भन्दैमा सबैसंग अनैतिक सम्बन्ध राख्दिन म । मेरा पनि भावना छन् संवेदना छन् । 

हावाको भरमा अड्कलबाजी काटेर अनैतिक सोचको डेरा नबनाउ दिमागलाइ । नारी प्रतिको सोच परिवर्तन गर । तिमीसंगै काँधमा काँध हालेर परिवर्तको लहड चलाउने क्षमता राख्छे नारी । लैङ्गिक भिन्नताको आधारमा क्षमताको मुल्यांकन गर्ने परिपाटी परिवर्तन गर्नुपर्छ तिम्ले । म घरमा खाना बनाउछँु । बच्चाहरु स्याहार्छु । तिम्रो बा आमाको सम्मान अनि सत्कार गर्छु । तिमी कमाएर घर चलाउछौ भन्दैमा, आधा रातमा रक्सि धोकेर कुट्न खोज्ने....म तिम्रो नोकर हैन । तिम्रो कुनै दासी हैन । तिम्रो बच्चालाइ संस्कार सिकाउने शिक्षक हुँ म । तिम्रो बा आमालाइ रक्षा गर्ने रक्षक हँु म । स्वास्नी कुटेर मर्द बन्न खोज्छौ भने,चुरा लगाएर चुलो अगाडी बस,भोलिबाट कमाउन म जान्छँु । राति जुन बेला मन लाग्यो तेइ बेला फरिया उचाल्नलाइ म कुनै पैसामा किनिएकी आनन्द हैन । बिचार गर, नत्र भोली “स्वास्नी बलात्कार गर्ने लोग्ने जेलमा”  भन्ने खबर दुँनियाले पढ्ने छन् । 

तिम्रो यातना,हिंसा,थुकाइ,कुटाइ सहनलाइ म कुनै बिं.सं. २००० अघिकी नारी हैन । म २१औँ शताब्दीको परिवर्तनशील नारी हँु । जस्मा तिम्रो हरएक दमनको प्रतिकार गर्ने क्षमता छ । तिम्रा प्रत्येक यातना बिरुद्ध बोल्ने आवाज छ । तिम्रो एकएक हिंसाको जवाफ दिने हात छ । तिमी एक हान्छौ भने म चार फिर्ता दिने क्षमता राख्छँु । 

म प्रतिको तिम्रो दृष्टिकोण, बिचार गलत छ । तिम्रो सोचाइ बिरामी छ । म तिम्रै सहयात्री हो तर मलाइ हेर्ने तिम्रो हेराइ बिरामी छ । तिमी मेरो अनि म तिम्रो आधार हँु तर मलाइ मुल्यांकन गर्ने तिम्रो आधार बिरामी छ । मैले र तिम्ले मिलेरै परम्परा बनायौँ तर मेरो लागी तिम्रो परम्परा बिरामी छ । हाम्रो एकता नै समाज हो तर मेरो लागी तिम्रो समाज बिरामी छ । म तिमी भन्दा फरक छैन तर फरक बनाउने तिम्रो संस्कार बिरामी छ । 

                                                                    –श्रेयज सुबेदी

 

Read 1398 times Last modified on Sunday, 13 March 2016 05:31